काठमाडौँ / इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आइआइएन)को छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक प्रतिवेदन पास गर्दै आइतबार काठमाडौँमा आयोजित वार्षिक साधारणसभाको उद्घाटन नेपाल बिमा प्राधिकरणका अध्यक्ष मदन दहालले गरे ।
अध्यक्ष दहालले बिमा सम्बन्धी तालिमसँगसँगै बिमा दाबी भुक्तानीमा ढिलाईलगायत नयाँ नयाँ विषयमा अनुसन्धान समेत गर्न इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाललाई निर्देशन दिए ।
इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका संरक्षक समेत रहेका अध्यक्ष दहालले बिमा क्षेत्रको विकासलाई अझै उचाईमा पु¥याउनका लागि आफ्नो क्षेत्रबाट मिहेनतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिए ।
अध्यक्ष दहालले भने, “बिमा सर्भेयर र बिमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ, समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ, देशभरका सबै बिमा सर्भेयर र बिमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीब्रता दिनुपर्छ ।”
सो अवसरमा अध्यक्ष दहालले इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको सञ्चालक समितिका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गरे । इस्योरेन्स इन्ष्टिच्युट अफ नेपालको सञ्चालक समितिका अध्यक्ष दीप प्रकाश पाण्डेले आइआइएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले आईआईएनले बिमा क्षेत्रका विशेषज्ञहरूको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थाहरूसँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको र स्नातकोत्तर तहमा बिमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौँ विश्वविद्यालयसँग समन्वय एवम् सहकार्य हुँदै आएको जानकारी दिए ।
साधारणसभामा आईआईएनका सञ्चालक समितिका सदस्यहरू तथा शेयरधनीहरू जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।