काठमाडौँ / नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत ६० अर्ब तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि राष्ट्र बैंकले ६० अर्ब तान्ने भएको छ ।
केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत तरलता झिक्न लागेको हो ।
बैंकिङ प्रणालीमा लगानी योग्य रकम थुप्रिएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत खिच्दै आएको छ ।
आइतबार बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ-ब्याज २७ माघमा भुक्तानी हुनेछ । निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
उक्त उपकरण राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ ।
निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
निक्षेप सङ्कलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
सामान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिनेछ ।
आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार समितिलाई रहनेछ ।
स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा सङ्कलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ ।
बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।
निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित सङ्कलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ ।
निक्षेप सङ्कलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।
सङ्कलित निक्षेप रकम भुक्तानी मिति अगावै सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा Pre-mature भुक्तानी हुनेछैन ।