काठमाडौँ / उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणले कुनै धर्म र जाती या संस्कार संस्कृति एवम् हाल भएको संरचनालाई थप मजबुद बनाउने बताएका छन् ।
पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका ढकालले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपारेको बताएका हुन् ।
उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताए ।
वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने एक रुख बराबर २५ रुखका दरले वृक्षरोपण गरिने उनले स्पष्ट पारे । त्यसरी रोपिएका रुखलाई पाँच वर्षसम्म आयोजनाले नै स्याहार तथा संरक्षण गर्ने र सरकारलाई हस्तान्तरण गर्ने उनको भनाइ छ ।
“केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि तातो तथा चिसो पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ । जसले गर्दा मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन,” उनले भने, “केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रूपमा अशक्त र हिड्न नसक्नेहरू पर्यटकहरूका सुविधा पुग्ने छ । हिँडेर जान चाहनेहरूको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्याउने छैन । केवलबार निर्माणले स्वदेशी तथा विदेशी तीर्थयात्री र पर्यटकको सङयामा उल्लेख्य वृद्धि हुनेछ । जसले गर्दा स्थानीय व्यापार व्यवसायसमेत प्रवर्द्धन हुनेछ ।”
विकासका काममा वादविवाद देखिनु राम्रो नभएको भन्दै उनले यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने बताएका छन् । यसले मुलुकमा लगानी भित्र्याउन निजी क्षेत्रले गरिरहेको पहललाई निरर्थक तुल्याएको उनको भनाइ छ ।
उनले भने, “मिडियाहरूमा माथि फाइभ स्टार होटलहरू छ रे, डेटिङ्हरू बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ । यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ । तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन । यो केबलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम गरेको छैन । यो गलत हो ।”
यसको साथै, उनले कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरू आउनु स्वभाविक भएको भन्दै यसलाई अन्यथा नलिएको बताए ।
परियोजनामा हुने अवरोधले विश्वव्यापी रूपमै नकारात्मक सन्देश जाने चिन्ता व्यक्त गरेका ढकालले कुनै पनि बहानामा विकास निर्माणका काममा अवरोध नगर्न सबै सरोकारवालामा आग्रह गरेका छन् । उनले लामो मन्तव्यमार्फत पाथीभरामा केबलकारको आवश्यकता दर्शाएका छन् ।
उनले भने, “केबलकारले नेपाली पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने भएको हुनाले नेपालमा सातवटा प्रदेशमा सातवटा पर्यटन पूर्वाधार बनाऔँ भनेर यसको सुरुवात गरेका हौं । हिडेर जान समस्या हुने खालको व्यक्तिहरूलाई सहज हिसाबले जान सकोस भनेर सुरु गरेका हौँ । कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरू आउनु स्वभाविक पनि हो । त्यसलाई अन्यथा लिनु हुदैँन ।”
ढकालका अनुसार परियोजनाले ३०० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ, जसमा ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने उनले बताए ।
केबलकारले पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने हुनाले भने पाथीभरामा पनि त्यसको निर्माण गरेको उनको भनाई छ ।
उनले भने, “हामीले नेपालका सम्मानित क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो प्रोजेक्टको रूपमा चन्द्रागिरि केबलकार बनाएका थियौं । केबलकार बनाएपछि त्यहाँको अवस्थामा धेरै सुधार भएको पनि छ । त्यसैगरी सबैको आशाको धरोहर पाथीभरामा सजिलै पहुँच पु¥याउने विषय विचार गरेर नेपालमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबलकार बनाएको हो ।”