काठमाडौँ / कृषि क्षेत्रको विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाले संयुक्त रूपमा ‘सातौँ नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आयोजना गर्ने भएको छ । शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा लाग्ने उक्त मेला फागुन ४ गतेसम्म चल्नेछ । मेलामा नेपाली कृषि उद्यमी, विदेशी व्यवसायी तथा कम्पनीहरूको स्टल रहनेछ ।
प्रवेश शुल्क नलाग्ने, परामर्श लिन सकिने
शुक्रबारदेखि आइतबारसम्म चल्ने मेलामा प्रवेश शुल्क लाग्ने छैन । मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने व्यवस्था छ । आयोगले यसलाई ‘प्रदर्शनी भित्रको प्रदर्शनी’ पनि भनेका छन् ।
उक्त प्रर्दशनीमा देशैभरिका अगुवा किसान, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, नीति निर्माता, व्यवसायी, उद्यमी, व्यापारी, आयातकर्ता, निर्यातकर्ता, सरकारी तथा गैर-सरकारी संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरू, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, शिक्षण संस्थाहरूको उपस्थिति हुने आयोजकले जनाएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र राष्ट्रिय कृषक समूह महासंघको विशेष पहलमा देशभरीबाट किसानहरू प्रदर्शनीको अवलोकन गर्ने बताइएको छ ।
उक्त मेला देशभरीबाटै बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर हुने आयोजकको विश्वास छ ।
सबैका लागि निःशुल्क प्रवेशको व्यवस्थाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास रहेको आयोजक मिडिया स्पेस सोलुसनले जनाएको छ ।
केके हुनेछन् प्रदर्शनीमा ?
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरू राखिनेछ ।
यसथै, नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुरयाउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको दावी छ ।
साथै, प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मूख्य प्रदर्शनी स्थलमा सबै बिधाका अलग अलग समूह स्टल रहने छन् ।
नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रवर्द्धन गरेको छ ।
त्यस्तै, नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालले पनि उक्त प्रदर्शनीलाई सहयोग गरेका छन् ।