काठमाडौँ / सुनको मूल्यले आज (मङ्गलबार) रेकर्ड ब्रेक गरेको छ । सोमबारको तुलनामा तोलामा ११ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।
हिजो सोमबार तोलामा सुनको भाउ १ लाख ७४ हजार १ सय रुपैयाँमामा कारोबार भएको थियो। यसअघि छापावाल सुनको उच्च मूल्य यही चैत १ गते १ लाख ७४ हजार ५०० रुपैयाँ कायम थियो ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ५० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य आकाशिने क्रम जारी छ ।