रुस पुगेपछि जब भीमबहादुरले ठगिएको चाल पाए...

रुस पुगेपछि जब भीमबहादुरले ठगिएको चाल पाए...

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • images
    images
    रुस पुगेपछि जब भीमबहादुरले ठगिएको चाल पाए...
    काठमाडौँ / आकर्षक तलब पाउने लोभमा वैदेशिक रोजगारीका लागि रुस पुगेका एक व्यक्ति त्यहाँको विमानस्थलबाट फर्काइएपछि आफू ठगिएको चाल पाएका छन् ।
     
    लमजुङ दूधपोखरी गाउँपालिका–१ घर भई हाल काठमाडौँ टोखा बस्ने विनिता गुरुङले एसएलसी उत्तीर्ण हुन नसकेका भीमबहादुर बुढालाई नक्कली कागजातसमेत बनाएर वैदेशिक रोजगारीका लागि रुस पठाइदिने बहानामा ठगी गरेको पाइएको हो । 
     
    रुस जान रु छ लाख ५० हजार लाग्ने तथा त्यहाँ पुगेपछि रसिया सैनिकमा काम लगाइदिने र त्यसबापत मासिक रु तीन लाख तलब हुन्छ भनी विश्वासमा पारी ती महिलाले तीन लाख ४६ हजार लिएर ठगी गरेको प्रहरीको भनाइ छ । 
     
    विनिताले उक्त भिसाका लागि आवश्यक सबै सर्टिफिकेटलगायत कागजात नक्कली बनाएको र एक हजार डलर साटेको देखाई  उक्त डलर बसपार्कबाट आफैँ लिएका थिए । 
     
    उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर निजलाई रसिया पठाइएको अनुसन्धानका क्रममा पत्ता लागेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
     
    उनलाई रसिया पुगेपश्चात् विमानस्थलबाट नक्कली कागजात भएको भनी फिर्ता पठाइएपछि मात्रै पीडितले आफू ठगिएको पत्ता पाएका थिए ।  
     
    त्यसपछि फर्किएर पीडितले वैदेशिक रोजगार विभाग ठगिएको भनी निवेदन दिएका थिए । विभागको पत्रअनुसार कार्यालयको प्रहरी टोलीले ठगी गरी फरार रहेकी विनिता गुरुङलाई काठमाडौँको बाँनियाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको रेग्मीले जानकारी दिए। 
     
    रेग्मीले ठगी गरी विदेश पठाउनेको गिरोह नै रहेकाले त्यस्ता व्यक्तिको लोभमा नफस्न सर्वसाधारणलाई आग्रह गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार