images
images

उद्यमीको मोहरलाई रुपैयाँ बनाउँदा रित्तिएका पहाड र बस्तीको माटो हराभरा हुन्छ

उद्यमीको मोहरलाई रुपैयाँ बनाउँदा रित्तिएका पहाड र बस्तीको माटो हराभरा हुन्छ

निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ ।

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • उद्यमीको मोहरलाई रुपैयाँ बनाउँदा रित्तिएका पहाड र बस्तीको माटो हराभरा हुन्छ

    म लगायत नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रको छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा थियो । मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एकदुई जना साथीभाइ र परिवारबाट सुरु भएको मेरो व्यवसायमा करिब २० हजारको परिवार बनेकोे छ । महासंघमा जोडिएसँगै करिब ६ लाख व्यवसायीसहितको परिवार बन्यो । हामीसँग विविध कारणले सदस्य नभएका वा हुन नपाएका व्यवसायी पनि यो परिवारका सदस्य हुन् । यसको अर्थ महासंघ परिवार सम्पूर्ण निजी क्षेत्रका सदस्यहरूको हो । 

    images
    images

    हाम्रो बृहत् परिवार यो सिंगो मुलुक हो । निजी क्षेत्र यो बृहत् परिवारको आयआर्जन गर्ने सदस्यहरू हुन् । हामी निजी क्षेत्र र सर्वसाधारणलाई आवश्यक सेवा र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो । सरकारले दिने सेवा र सुरक्षाबिना हामी काम गर्न सक्दैनौँ । हामीलाई सेवा र सुरक्षा दिएबापत हामी राज्यलाई कर बुझाउँछौँ । 

    उद्यमशीलता कठिन तपस्या

    अहिले परिवारमा आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ । तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ । 

    म युवाहरूको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु । उद्यमशीलता एउटा कठिन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन गर्न रकम चाहिन्छ । यस्तो रकमको जोहो घरवार धितो राखेर नै गर्नुपर्छ । 

    अब त्यो आइडियालाई समाजले स्वीकार गर्ने गरी तयार पार्नुप-यो । राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुप-यो । कानुनी अड्चन हुन भएन र वातावरणीय रुपमा दिगो हुनुप-यो । यी सबै आधारभूत विषय पूरा गरेपछि मात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ । तर यति हुँदाहुँदै पनि म आज यहाँ निराशा मात्र व्यक्त गर्न चाहन्नँ । 

    सम्भावना 

    म यो सम्भावना नै सम्भावना भएको मुलुकका रूपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको भूमिकाबारे पनि कुरा गर्छु । सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च छ । अर्थात् करिब साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ । बैङ्कहरूमा पनि तत्काल कर्जाका रूपमा दिन सकिने करिब ६ खर्ब रुपैयाँ छ । उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ । 

    भुक्तानी सन्तुलन र चालु खातासमेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस अवधिमा एक खर्ब रुपैयाँको निर्यात हुँदा ८० अर्ब रुपैयाँ त विद्यार्थीहरू विदेश जाँदा बाहिरिएको छ । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ ।

    वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव २ प्रतिशत हाराहारी मात्रै छ । वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झन्डै दोब्बर भएको छ । आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको छ । 

    रेमिट्यान्सले अर्थतन्त्र धान्न सक्छ ? 

    निर्यात लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भइसकेको छ । 

    रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून हुन्छ । विगतमा बढ्दो रेमिट्यान्सले माग बढाउँदा सरकारको राजस्व पनि बढेको थियो । अहिले, राजस्व अपेक्षित रूपमा बढ्न सकेको छैन । न्यून पुँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ ।

    रोगको पहिचान गरेर औषधि सिफारिस गर्यौँ तर राज्यले सुनेन

    अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ । करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ । 

    यस पटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुँदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् । 

    श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब दुई प्रतिशत सकारात्मक भएको छ । 

    नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख हुन् । किनभने यस अवधिमा भारत, बंगलादेशलगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३.३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत वर्ष पनि नेपालको वृद्धि दुई प्रतिशतभन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशतभन्दा बढिले विस्तार भएको थियो ।

    भारत मात्रै होइन हाल निकै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, कम्बोडिया, लाओस, रुवान्डा र इथियोपिया जस्ता मुलुकको विकासको मुख्य आधार निजी क्षेत्रले डो¥याएको वृद्धि नै हो । कुनै समयका द्वन्द्वग्रस्त र निकै गरिब मुलुकहरूको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ ।

    सबै छिमेकीको तीव्र विकास भइरहँदा, पछिल्लो दुई वर्षमा न्यून आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो । यस वर्ष पनि उत्पादनमूलक क्षेत्रको वृद्धिदर शून्य दशमलव ४ प्रतिशतले ऋणात्मक छ ।

    समस्यामा उद्यमी

    अहिले उद्योगहरूमा एक प्रकारले अघोषित लोडसेडिंग छ जसले उत्पादनलाई थप प्रभावित बनाएको छ । साना उद्यमीको सहुलियतपूर्ण कर्जा रोकिएको छ । निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । न्युन पुँजीगत खर्च भैरहेको छ । यस्तो अवस्थामा उत्पादन बढाउने र बजारमा रकम प्रवाह गर्ने उपायको खोजी गरिनुपर्छ । सेवा निर्यातको सम्भावना देखिएकाले त्यसतर्फ पनि हाम्रा नीतिहरू निर्देशित हुनुपर्छ । राजश्व कम भएकाले अनावश्यक अनुगमनका कारण व्यवसायी समस्यामा छन । 

    म व्यक्तिगत रूपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रूपमा हेर्ने व्यक्ति हुँ । मैले सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिनँ । हामी आफैँमा सम्पन्न र सक्षम छौँ । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरू कुनै बाहिरी प्रभावभन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ । हामीले लिने साना तर सकारात्मक प्रयासहरूले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ । 

    लगानी कम्पनी स्थापना गरिने 

    छरिएर रहेको सानो बचत कम्पनीमा लगानी गर्न मिल्ने गरी महासंघको पहलमा लगानी कम्पनी स्थापना गर्ने तयारी छ । यो महासंघको आप्mनो कम्पनी होइन । महासंघले सबै व्यवसायीलाई जोडेर सुरुमा सहजीकरण गर्ने हो । उक्त कम्पनी स्वतन्त्र रूपमा सञ्चालन हुन्छ । 

    हामीले निरन्तर प्रयास गरिरहेका छौँ । हाम्रा युवाहरूका सपना खाडीमा खेर जान नदिऔँ । उद्यमीको मोहरलाई रुपैयाँ बनाउने अवसर दिऔँ । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भूकम्पपछि कसरी उठ्यौँ ? अनि कोभिडपछि कसरी तंग्रियौँ ? यी दुःखबाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।

    सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरूसामु पाँचबुँदे प्रतिबद्धतापत्र पेस गरेका छौँ । यसमा हामी यहाँहरूको प्रतिबद्धताको अपेक्षा गरेका छौँ । 

    अहिले निराशा र अविश्वास बढेका बेला यहाँहरूले यी प्रतिबद्धता जनाइदिनुभए मात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु । यहाँहरूसमक्ष यसका लागि हार्दिक अनुरोध गर्दछु ।

    नेपाल उद्योग वाणिज्य महासंघले राख्दै आएको द्विपक्षीय लगानी सम्झौता बीआईएको खाका मन्त्रिपरिषद्बाट पारित भएको छ । अब छिट्टै हामीले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेका छौँ । व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नु छ । यो निराशालाई आशामा परिणत गर्नु छ । अबको दुई दिनपछि नयाँ वर्ष २०८१ सुरु हुँदै छ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरू, नेतृत्ववर्ग नयाँ वर्षमा हामी व्यवसायीहरूले यहाँहरूबाट के सन्देश लिएर जाने, अब यो यहाँहरूको हातमा छ । 

    (नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा ५८ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा प्रस्तुत विचार)

                         

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार