images
images

काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै, आगामी सातादेखि ग्रेडिङ गरिने

काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै, आगामी सातादेखि ग्रेडिङ गरिने

आइतवार, चैत २४ २०८१
आइतवार, चैत २४ २०८१
  • काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै, आगामी सातादेखि ग्रेडिङ गरिने
    images
    images
    images
    images

    काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन् । अरनिको राजमार्गसँग जोडिएको दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे खण्डअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल खण्ड स्तरोन्नति भइरहेको हो । 

    बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (एएफ) आयोजना कार्यान्वयन इकाई भक्तपुरमार्फत छ दशमलव पाँच किलोमिटर सडक विस्तार भइरहेको आयोजना कार्यालयले जनाएको छ । 

    गत असोजको बाढीपहिरोले करिब एक दशमलव पाँच किमी सडक क्षतिग्रस्त बनाएपछि उक्त क्षेत्रमा नयाँ डिजाइन गर्नुपर्ने आयोजना कार्यालयका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिए । नयाँ डिजाइन नहुँदासम्म यो क्षेत्रमा काम गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

    श्रेष्ठका अनुसार विस्तारित सडकमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी सातादेखि ग्रेडिङको काम गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको उनले बताए । 

    एसियाली विकास बैंक (एडिबी)को लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले २०८० चैत १३ गते दुई वर्षमा सम्पन्न गर्नेगरी १२ करोडमा ठेक्का लिएको थियो ।

    हालसम्म २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षभित्र ‘असपाल्ट’ प्रविधिबाट कालोपत्र गर्ने तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ । 

    यसैबीच, गत साता बागमती प्रदेशसभाका सांसद लक्ष्मण लम्सालले निर्माणाधीन सडक अनुगमन गरी तोकिएको समयभित्रै काम सम्पन्न गर्न आयोजना तथा निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका थिए ।  

    हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल सडकअन्तर्गत हबेली–सापिङ खण्डमा कालोपत्र सुरु गरिएको छ। प्रदेश सरकारको बजेटबाट स्तरोन्नति थालिएकामा शुक्रबार ‘प्राइम’ हालेपछि आजदेखि पिच बिछ्याउने काम थालिएको निर्माण कम्पनीका व्यवस्थापक प्रदीप गौतमले जानकारी दिए ।

    उनका अनुसार पहिलो चरणमा तीन किमी २०० मिटर असपाल्ट प्रविधिबाट कालोपत्र र चार सय मिटर ढलानको काम हुनेछ । 

    नौ करोड ३२ लाख ६५ हजार ५०० मा पूर्वाधार विकास कार्यालय धुलिखेलले गत मङ्सिरमा पिएसके–एभरेष्ट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । उक्त आयोजना आगामी मङ्सिरसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ । 

    कम्पनीका व्यवस्थापक गौतमले निर्धारित समयावधि अगावै ठेक्का सम्पन्न गर्नेगरी तीव्रगतिमा काम भइरहेको जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com