images
images

ऋणमुक्त भएको निगमले घटाउला त इन्धनको मूल्य ?

ऋणमुक्त भएको निगमले घटाउला त इन्धनको मूल्य ?

"कार्यविधि पूर्ण रूपमा पालना नहुँदा निगम घाटामा गएको हो ।"

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • ऋणमुक्त भएको निगमले घटाउला त इन्धनको मूल्य ?

    काठमाडौँ / सरकारको पूर्ण स्वामित्व रहेको नेपाल आयल निगम ऋणमुक्त भएको छ । झन्डै तीन वर्षदेखि ऋणमा रहेको निमगम मंगलबारदेखि ऋणमुक्त बनेको हो । सहज इन्धन आपूर्तिका लागि सरकारसँग लिएको ७ अर्ब ऋणको अन्तिम किस्ता बुझाएसँगै निगम ऋणबाट मुक्त भएको हो । निगमले अन्तिम किस्ता वापतको ७० करोड रुपैयाँ अर्थमन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेको हो । 

    images
    images

    निगम २०७७ पुसदेखि घाटामा थियो । रुस र युक्रेनले कच्चा र प्रशोधित तेलको मूल्य बृद्धि जादा इन्धनको मूल्य आकाशिएको थियो । मूल्य बढ्दै गएपछि निगमले एक बर्षमै करिब ५० अर्ब घाटा बेहोरेको थियो । 

    निगम नोक्सानीमा गएपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग इन्धन खरिद गर्दासमेत ३३ अर्ब बक्यौता रहेको थियो भने वाणिज्य बैङ्कसँग ३ अर्ब र सरकारसँग ७ अर्ब ऋण लिएको थियो । 

    उक्त समयमा लिएको ऋण ब्याजसहित निगमले सबै चुक्ता गरिसकेको छ । आइओसीको ऋण जुन ३१ र ब्याज जुलाई ८ मा तिरेको हो निगमले जनाएको छ । निगमले पैसा हुन साथ ७÷७ दिनमै ऋण र ब्याज तिर्दै आएको बताएको छ । आइओसीलाई ६ प्रतिशतका दरले १ बर्षमा १८ करोडसम्म ब्याज तिरेको निगमको भनाइ छ । 

    वाणिज्य बैङ्कलाई १०.६ प्रतिशत र सरकारलाई ५ प्रतिशतले ब्याज बुझाउने सहमति थियो । उक्त सहमति अनुसार वाणिज्य बैङ्कको सबै ऋण ३ महिनामै चुक्ता गरेको र सरकारलाई बुझाउने ऋणको अन्तिम किस्तास्वरूप ७० करोड बुझाएपछि ऋणमुक्त बनेको निगमले जनाएको छ । 

    घट्ला त मूल्य ? 

    नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ अहिलेको विषय भने होइन । पेट्रोलियमको पदार्थको मूल्यको प्रभाव अर्थतन्त्रमा नै पर्ने भएकोले यसले अरु क्षेत्रलाई पनि असर गर्ने गर्दछ । त्यसैले पेट्रोलियमको पदार्थको मूल्य सदनदेखि सडकसम्म सधैँ चर्चाकै विषय बन्ने गर्दछ ।  विश्व बजारमा पेट्रोलियम पदार्थमा भएको भारी वृद्धिले नेपाललाई पनि स्वभावतः छोयो । त्यसकारण पनि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो ।  

    नागरिकलाई राहत दिन भन्दै सरकारले पटकपटक गरेर कर छुटको घोषणासमेत गर्यो । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि घाटामा गएको निगमले अहिले ऋण पनि तिरिसक्यो तर मूल्य भने घटाउने निर्णय गरिसकेको छैन । 

    निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसारका अनुसार बिहीबार रातिसम्म भारतबाट नयाँ मूल्यसूची आउनेछ । उक्त मूल्यसूचीका आधारमा घटेको भए घट्ने र बढेको भए बढ्ने उनले बताए । 

    निगमले गत साउन महिनादेखि लागू गरेको स्वचालित मूल्य प्रणाली दसैँताका नै स्थगित गरेको थियो । चाडबाडमा मूल्य वृद्धि गरेको चर्को आलोचना खेपेपछि सरकारको निर्देशनले निगमले स्वचालित मूल्य प्रणाली स्थगित गरेको थियो । चाडबाड सकिएसँगै अब स्वचालित मूल्य प्रणाली अनुसार नै मूल्य तोकिने उनले बताए । उनी भन्छन्, “चाडबाडको समयमा उपभोक्तालाई सहुलियत दिन स्वचालित मूल्य प्रणाली स्थगित गरिएको थियो । चाडबाड सकियो अब स्वचालित कार्यविधि अनुसार नै निगमले प्रस्ताव गर्छ । तर बैठकबाट जे निर्देशन आउँछ त्यहीँ नै हुन्छ ।”

    स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलको परल मूल्यमा २ प्रतिशत मात्र मुनाफा राख्न सकिने उल्लेख छ । 

    सीमित प्रतिशत नाफा राखेर मूल्य समायोजन भइराख्दा पनि ऋण चुक्ता गर्न सहज बनेको हो । अब भने परल मूल्यमा धेरै मुनाफा राख्न नहुने उपभोक्ताहरू बताउँछन् । तर, पछिल्लो समय पूर्ण स्वचालित मूल्य दसैँसँगै ब्रेक लागेको छ । तिहारताका पेट्रोल र डिजेलको मूल्य घटेर आउँदा पनि निगमले मूल्य समायोजन गरेको थिएन । त्यसपश्चात् निगमलाई १५ दिनमा करिब ५४ करोड घाटा लागेको थियो । दसैँदेखि नै स्वचालित मूल्य प्रणाली स्थगित नै छ । 

    पछिल्लो समयमा कात्तिक २९ मा आईओसीले पठाएको मूल्य सूचीअनुसार डिजेलमा प्रतिलिटर ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा मूल्य घटेर आएको छ । तर, खाना पकाउने ग्यासमा २ सय ८० रुपैयाँ घाटा रहेको निगमका ठाकुरले बताए ।  खाना पकाउने ग्यासका कारण अहिले पनि निगमले १५ दिनमा ६ करोड घाटा बेहोरिरहेको उनको भनाइ छ । 

    एलपिजी सेप्टेम्बरदेखि मार्चसम्म माग बढ्ने भएकोले मूल्य बढ्छ । जाडो महिनामा पश्चिममा मुलुकमा माग बढ्छ ।  उनले भने, “कार्यविधि अनुसार निगम कहिल्यै घाटामा जाँदैन । तर कार्यविधि पूर्ण रूपमा पालना नहुँदा निगम घाटामा गएको हो । निगमको ७० प्रतिशत घाटा एलपिजी ग्यासमा छ ।” 

    एलपिजीमा घाटा भए पनि अहिले निगमलाई पेट्रोलमा ३ रुपैयाँजति डिजेलमा २ रुपैयाँ, हवाई इन्धनमा २ रुपैयाँ नाफा भइरहेको उनले जानकारी दिए । असार ३१ देखि कार्यान्वयनमा आएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० मार्फत निगमले एलपीजी ग्याासमा नाफा–घाटा नलिने व्यवस्था गरेको छ ।

    गत बर्ष नाफामा निगम 

    नेपाल आयल निगमले गत आर्थिक बर्ष २०७९/८० मा १८ अर्ब नाफा आर्जन गरेको थियो । निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपैयाँ नाफा कमाएको हो । 
    निगमका अनुसार आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपैयाँ घाटा रहेको थियो । त्यस्तै आव २०७७/७८ मा ५९ करोड घाटामा थियो ।

    रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गर्दा घाटामा गएको निगमले बताउँदै आएको थियो । 

    गत मङ्गलबार एक कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा गरेको बताएका थिए । 

    उनले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आइपिओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आइपिओ जारी गर्न प्रतिवद्ध रहेको बताए । उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन र व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयारी रहेको बताएका हुन् ।

    त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा अमलेखगन्ज–चितवन, सिलगुडी–चारआली झापामा दुई ओटा पाइपलाइन, दुई ठाउँमै ग्रिनफिल्ड टर्मिनल बनाउने योजना अनुसार काम भइरहेको प्रवक्ता ठाकुरले जानकारी दिए । उनले तीन ओटा भारत सरकारको सहयोगमा र चितवनको स्टोरेजचाहिँ निगमकै लगानीमा बनाउने सम्झौता भएको र त्यसका लागि अध्ययनसमेत सुरु भएको बताए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार