विश्वका पर्यटकलाई लोभ्याउदै मुस्ताङ

विश्वका पर्यटकलाई लोभ्याउदै मुस्ताङ

“मुस्ताङमा धार्मिक, साँस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक तथा प्राचिन, महत्त्वका पर्यटकीय स्थलहरू छन् ।"

शुक्रवार, पुस २७ २०८०
शुक्रवार, पुस २७ २०८०
  • विश्वका पर्यटकलाई लोभ्याउदै मुस्ताङ

    काठमाडौँ / नेपालमा घुमफिर संस्कृति बढ्दै गइरहेको छ । कोभिडका कारण थलिएको पर्यटन व्यवसाय पछिल्लो समय जुर्मुराएको छ । पछिल्लो समय विदेशी र नेपाली पर्यटकहरूको सङ्ख्या वृद्धि हुँदै गइरहेको नेपाल पर्यटन बोर्डले जारी गर्ने तथ्याङ्कले नै देखाउँछ ।

    images

    सन् २०१९ पछि पहिलो पटक नेपालमा १० लाख बढी विदेशी पर्यटकहरू भित्रिए । सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गर्दै सुरुवाती बर्षमा १० लाख पर्यटक भित्र्याउने लक्षय राखेको थियो । डिसेम्बर अन्तिमसम्ममा नेपालमा १० लाख १४ हजार ८७६ जना पर्यटक भित्रिएको तथ्याङ्क सार्वजनिक गर्दै बोर्डले लक्ष्य पूरा भएको जनाएको छ ।

    सन् २०१९ को तुलनामा यो ९५.७६ प्रतिशतको रिकभरी हो । २०१९ मा नेपालमै हालसम्मकै उच्च झण्डै १२ लाख पर्यटक भित्रिएको थियो । त्यसयता भने कोराना महामारीका कारण कोराना आगमनमा उच्च गिरावट आएको थियो । 

    तथ्याङ्कका आधारमा किस्ता किस्तामा नेपालमा पर्यटन व्यवसाय लयमा फर्किने क्रममा छ । भौगोलिक, धार्मिक, सांस्कृतिक विविधताले भरिएको नेपाल पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य हो । तीमध्ये पनि नेपालको मुस्ताङ जिल्ला अन्तर्राष्ट्रिय रूपमासमेत घुमफिरका लागि चर्चित गन्तव्य हो ।

    मुस्ताङ जिल्लामा नेपाली मात्रै नभई हिन्दी तथा अङ्ग्रेजी चलचित्रसमेत छायाङ्कन भएका छन् । म्युजिक भिडियो छायाङ्कनमा समेत निर्माता निर्देशकको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । त्यस्तै, नेपालको पर्यटकीय गन्तव्यहरूको चर्चा समय समयमा विदेशी सञ्चार माध्यममा आउनुले पनि नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा ईँटा थप्ने काम गरेको छ । सोही क्रममा पछिल्लो समय अमेरिकी सञ्चारमाध्यम ‘द न्युयोर्क टाइम्स’ सन् २०२४ मा घुम्न उपयुक्त ठाउँको सूचीमा नेपालको मुस्ताङ पनि समावेश गरेको छ । 

    द न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै उक्त सूचीमा नेपालको मुस्ताङ पनि समावेश गरेको हो । यसअघि गत वैशाखमा अमेरिका समाचार संस्था सिएनएनले पनि विश्वका २३ ठाउँको घुम्नै पर्ने स्थानको सूचीमा मुस्ताङलाई समेटेको थियो । उक्त सूचीमा मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँमध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको थियो । 

    साथै, हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरूमध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको थियो । 
    यता, न्यूयोर्क टाइम्सले पनि ठाउँहरूको सूची सार्वजनिक गर्दै मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै सन् २०२४ मा घुम्नै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएको छ । यसले पनि विश्वका पर्यटकलाई मुस्ताङले लोभ्याएको पुष्टि हुन्छ । 

    यसरी न्यूयोर्क टाइम्सको घुम्न पर्ने ठाउँको सूचीमा मुस्ताङ समेटिएसँगै यसले समग्रमा नेपाल आउने पर्यटक संख्या बढाउने स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले द न्यूयोर्क टाइम्सको घुम्नपर्ने ठाउँको सूचीमा मुस्ताङ समेटिएसँगै  देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । यसले मुस्ताङको मात्रै नभई देशकै प्रचार प्रसार हुने उनको भनाइ छ । 

    “मुस्ताङमा धार्मिक, साँस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक तथा प्राचिन, महत्त्वका पर्यटकीय स्थलहरू छन् । नीलगिरी र धौलागिरीको काखमा रहेको यहाँ बौद्ध स्तूपा, बौद्ध मन्दिर, राता पहाडहरू, मठमन्दिरका आकृतिका पहाडहरू निकै सुन्दर छन् ,” उनले भने । 

    भर्खरै मात्रै मुस्ताङमा कोराला नाका सञ्चालनमा आएको छ । यो देशको ठुलो नाकाको रूपमा सञ्चालनमा आएको पन्तको दावी छ । नेपालको महत्त्वपूर्ण गन्तव्यको रूपमा चर्चित मुस्ताङ्मा बुद्ध र हिन्दुहरूको संयुक्त पुजा पाठ गर्ने मुक्तिनाथ मन्दिर रहेको छ । पाँचौ धामको रूपमा प्रसिद्ध कागबेनी समेत यही छ । कागबेनीमा नुहाएर मुक्तिनाथमा पुजापाठ गर्नुपर्छ र मुक्तिनाथ नआएसम्म चार धाम गएको अर्थ हुँदैन भन्ने मान्यतासमेत रहिआएको उनले बताए । 

    मुस्ताङ्मा पर्यटकहरूलाई आकर्षित गर्ने अर्को सहर लोमान्थाङ हो । अप्पर मुस्ताङमा रहेको यो सहरको पर्खालसमेत माटोको रहेको छ । यो माटैमाटोको सहरको रूपमा प्रख्यात छ । पुरातात्विक र ऐतिहासिक रूपमासमेत यहाँ पुग्नै पर्ने उनको भनाइ छ । 

    मुस्ताङको फरक संस्कृति, फरक भूगोल, दुलर्भ बन्यजन्तु, याक र चौरी पालन, स्याउको राजधानी, ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य, हिउँदमा हिउँ जम्ने र बर्षामा पानी जम्ने मनमोहक तालतलैयाहरू आदि मुस्ताङ्मा पर्यटकलाई लोभ्याउने कारणहरू हुन् । 

    मुस्ताङ हुँदै तिलिचो र थोराङ पास ट्रेकिङ जान सकिन्छ भने सेकुम ताल, नर्साङ गुम्बा र लक्ष्मी गुम्बा, धुम्ब ताल, कुसुक प्रेङ्गा गुम्बा, लो–घेकर गुम्बा, लुरी गुम्बा, दामोदर गुम्बा, धौलागिरी आइसफल, झोङ्ग गुफा, छोसेर गाउँका गुफाहरू, घोडचढी यात्रा, माउन्टेन बाइकिङ्ग, ठिमी लगायतका पाँच स्थानमा होमस्टे मुस्ताङ्मा पर्यटकलाई आकर्षक गर्ने माध्यम हुन् । दामोदर कुण्डबाटै कालीगण्डकी बग्छ, शालिग्रामको भण्डार हो । 

    यसैगरी, सबैभन्दा पछिल्लो पटक पत्ता लागेको मानवीय बसोबास रहेको १३ घरधुरी शान्ता गाउँ पनि मुस्ताङमा पर्ने पन्तले बताए । उनका अनुसार उक्त गाउँ सम्भवतः दक्षिण एशियाकै कान्छो गाउँ हो । कोदो, फापर र उवाका लागिसमेत मुस्ताङ प्रसिद्ध छ । यहाँ धेरै खर्च गर्न सकिने र कम खर्च गर्ने सबैका लागि खाने बस्नेको व्यवस्था छ । प्रत्येक घर नै होटल भएको र थकाली र गुरूङ समुदायको कल्चर अनुसार यहाँ पाहुनाका लागि खाने बस्ने व्यवस्था भएको उनले बताए ।

    कसरी पुग्ने मुस्ताङ ?

    काठमाडौंबाट म्याग्दीको सदरमुकाम बेनीसम्म सजिलै पुग्न सकिने स्थान हो । बेनीबाट बिहानको समयमा सिधैँ जोमसोमको लागि बस र जीप पाइन्छ । टिकट नपाइएमा भने बेनीबाट मुस्ताङको घाँसासम्म अनि त्यहाँबाट जोमसोमको लागि बस पाइन्छ । जोमसोमबाट कागबेनी र मक्तिनाथसम्म सहजै गाडी पाइन्छ । 

    माथिल्लो मुस्ताङ नै पुग्ने योजना भएपनि कागबेनीबाट छुसाङ अनि त्यहाँबाट लोमान्थाङसम्म जीप पाइन्छ । गाडीको सहज पहुँच भएकाले एक हप्तामै माथिल्लो मुस्ताङ पुगेर आउन सकिन्छ। लामो समय नै घुम्ने योजना भएकाहरूलाई ट्रेकिङ उत्तम विकल्प हो ।

    मुस्ताङका पर्यटकीय स्थलहरू

    सेकुम ताल

    नर्साङ गुम्बा र लक्ष्मी गुम्बा

    धुम्ब ताल

    तिलिचो ट्रेकिङ्ग

    मुक्तिनाथ तीर्थस्थल

    कागवेनी तीर्थस्थल

    कुसुक प्रेङ्गा गुम्बा

    लो(घेकर गुम्बा

    लुरी गुम्बा

    दामोदर कुण्ड

    लोमान्थाङ्ग विशेष गाउँ

    झोङ्ग गुफा

    छोसेर गाउँका गुफाहरु

    नीलगिरी हिमाल

    घोडचढी यात्रा (पोनी ट्रेक)

    माउन्टेन बाईकिङ

    ठिमी लगायत ५ स्थानमा होमस्टे

    धौलागिरी आईस फल

    थोराङ पास ट्रेकिङ
    घुरसावे (पन्द्म संभवले ध्यान गरेको)

    मुतौछर्छा ताल

    कालीवराह(सेतीवराह

    घाँसा कालिजको राजधानी ९६ प्रकारका कालिज पाइने०

    दामोदर कुण्ड सारेभुङ् पास फू ९मनाङ० पदमार्ग

    छुसाङ् घमी लोमान्थाङ छोनुप छोसेर छुसाङ सर्किट

    मुक्तिनाथ पैरोथाप्ला पदमार्ग

    टिनी नुप्साङ माचे चाखोपानी पदमार्ग

    अन्नपूर्ण हिमाल आरोहण पदमार्ग

    धौलागिरी बेसक्याम्प, याकखर्क

    लोमान्थाङ् समजुङ् लार्च्याङ लावराङ घ्ये तोड्चा दुक्साङ

    पदमार्ग

    कागबेनी साता

    रगतखाने मेला, थासाङ

    तिजीमेला (तेन्चा, चिरिम)

    यार्तुङ् मेला (घोडाजात्रा)

    फाडीमेला (रमाइलो मेला युवा युवतीहरू)

    ल्होसार मेला (ग्याल्बो र सोनाम ल्होसार)

    सर्का–लुर्का (कृषि शुरुआत मेला) (रोपाइँ जात्रा)

    एक बर्षमा ९० हजार विदेशी पर्यटक मुस्ताङ पुगे ! 

    पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । एक्यापका प्रमुख पदमराज रेग्मीका अनुसार सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् । 

    सन् २०२२ मा ६५ हजार नौ सय ४० जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजारसम्म पर्यटक आएको तथ्याङ्क छ । कोरोना अघि अर्थात सन् २०२१ मा दुई हजार तीन सय पर्यटक भित्रिएकामा छ सय दुईजना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए भने सन् २०२० मा दुई हजार तीन सय ४७ पर्यटक मुस्ताङ आएका थिए । 

    सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार एक सय ९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)राष्ट्रका र १८ हजार  एक सय ६६ जना तेस्रो मुलुकका छन् । दश हजार सात सय ३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार