images
images

सात महिनामा दुग्धजन्य वस्तु किन्दा बाहिरियो डेढ अर्ब, भुक्तानी र बजार नपाउँदा स्वदेशी किसान आन्दोलनमा

सात महिनामा दुग्धजन्य वस्तु किन्दा बाहिरियो डेढ अर्ब, भुक्तानी र बजार नपाउँदा स्वदेशी किसान आन्दोलनमा

देशभरका किसानले दुध बिक्री गरेको ६ अर्बभन्दा धेरै रकम भुक्तानी पाएका छैनन् ।

आइतवार, फागुन १३ २०८०
आइतवार, फागुन १३ २०८०
  • सात महिनामा दुग्धजन्य वस्तु किन्दा बाहिरियो डेढ अर्ब, भुक्तानी र बजार नपाउँदा स्वदेशी किसान आन्दोलनमा

    काठमाडौँ / सरकार अफ्नो समस्याप्रति उदासिन रहेको भन्दै दुग्ध उत्पादक किसानहरूले आज (आइतबार)देखि क्रमबद्ध आन्दोलन गर्ने भएका छन् । दुधको बक्यौता रकम भुक्तानी गर्नदेखि बजारको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर किसानहरू आन्दोलनमा उत्रिएका हुन् । 

    images
    images

    स्वदेशी दुग्ध उत्पादक किसानहरूलाई आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भइरहँदा यता ठुलो परिमाणमा दुग्धजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

    तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको सात महिनामा डेढ अर्ब रुपैयाँ बराबरको दुग्धजन्य वस्तु आयात भएको छ । मुलुक दुधमा आत्मनिर्भर भएको घोषणा भए पनि वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको दुधजन्य पदार्थ आयात भइरहेको विभागको तथ्याङ्क छ । 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा डेढ अर्ब रुपैयाँभन्दा बढीको दूध तथा दूग्धजन्य वस्तु आयात भएको छ । ७ महिनामा १ अर्ब ५० करोढ ६४ लाख रुपैयाँ बराबरको दूध तथा दूग्धजन्य वस्तु आयात भएको हो ।

    सबैभन्दा धेरै दुग्धजन्य विभिन्न परिकार ८१ करोड ८९ लाख ७० हजार रुपैयाँको आयात भएको छ । त्यस्तै, ३६ करोड ५५ लाख ५३ हजार रुपैयाँको पाउडर दुध, २७ करोड ३३ लाख ५ हजार रुपैयाँको चिज, २ करोड ४० लाख ८३ हजार रुपैयाँको स्वादयुक्त दूध, १ करोड ८९ लाख ४८ हजार रुपैयाँको बटर, २० लाख रुपैयाँको दूधको क्रिम, ६ लाख ३२ हजार रुपैयाँको घिउ आयात भएको छ । 

    विभागको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७९/८० मा भने कुल दुई अर्ब ३८ करोड रुपैयाँ बराबरको दुध तथा दुग्धजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । 

    निर्यात साढे ७ करोडको मात्रै 

    चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा नेपालले डेढ अर्बभन्दा बढीको दुग्धजन्य वस्तु आयात गर्दा करिब साढे ७ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । तथ्याङ्क अनुसार ७ महिनामा ७ करोड ४४ लाख ८७ हजार रुपैयाँ बराबरको दुग्धजन्य वस्तु विभिन्न मुलुकमा निर्यात गरेका हो । 

    यस अवधिमा सबैभन्दा धेरै दुग्धजन्य विभिन्न परिकार २ करोड ५९ लाख २० हजार रुपैयाँको निर्यात भएको छ । 

    यसैगरी, १ करोड ७९ लाख ४० हजार रुपैयाँ बराबरको घिउ, ६८ लाख ८० रुपैयाँ बराबरको बटर, ६३ लाख २४ हजार रुपैयाँ बराबरको चीज निर्यात गरेको छ । नेपालले दुग्धजन्य वस्तु चीन, भारत, जापान, अष्ट्रेलिया, जापान, अमेरिका, फिलिपिन्स लगायतका मुलुकहरूमा निर्यात गरेको छ । 

    स्वदेशी दुग्ध किसान आन्दोलनमा 

    ठुलो परिमाणमा दुग्धजन्य वस्तु आयात भइरहँदा स्वदेशी किसानहरू भने बजार र भुक्तानी नपाएको भन्दै आन्दोलनमा छन् । विभिन्न सङ्घसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्षा १६ बुँदे माग राखेर क्रमबद्ध रूपमा आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

    दुधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै गत फागुन ६ गते किसानहरूले गत फागुन ६ गते भरतपुर बसपार्क चोकमा सयौं लिटर दुध पोखेर विरोध गरेका थिए ।

    दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न दुग्ध उत्पादक किसानहरूको माग रहेको छ । 

    यसैगरी, दुधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्नुपर्ने बिक्री नभएको दुधलाई पाउडर बनाइ देशले मिल्क होलिडे हुनबाट रोक्न, खोरेन रोग मुक्त घोषणा गरी दुध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउनुपर्ने लगायतका १६ बुँदे माग राखेर किसानहरूले आन्दोलन गरेका हुन् । 

    देशभरका किसानले दुध बिक्री गरेको ६ अर्बभन्दा धेरै रकम पाएका छैनन् । 

    जसमध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी ले तिर्नुपर्ने मात्रै दुई अर्बभन्दा बढी रहेको राष्ट्रिय दुग्ध किसान सहकारी संघ लिमिटेडले जनाएको छ । 

    सरकारी र अधिकांश निजी डेरी उद्योगले गत असोजदेखि किसानलाई दुधको पैसा दिएका छैनन् । 

    नेपालमा दैनिक कूल  ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । यस्तै, करिब ३० लाख घरपरिवार दूध उत्पादन क्षेत्रमा संलग्न रहेका छन् । नेपालको कूल गार्हस्थ उत्पादनमा दूधको योगदान ६ प्रतिशत रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

    दुग्ध उत्पादक सहकारी संस्था चितवनका अध्यक्ष बिशोर बगालेले करिब एक हप्तादेखि जिल्लामा उत्पादित दूध बिक्री हुन नसकेको भन्दै बजारको सहजीकरणका लागि सरकारसँग आग्रह गर्दा सुनुवाइ हुन नसकेको गुनासो गरे । 

    उनका अनुसार चितवनका किसानको करिब ५२ करोड रुपैयाँ डेरी उद्योगले भुक्तानी गरेका छैनन् । दुधको भुक्तानी नपाउनु र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको किसानहरू बताउँछन् । 

    नेपाल दुग्ध व्यवसायी संघका अध्यक्ष विश्वराज घिमिरेका अनुसार कूल उत्पादनको ५० प्रतिशत दूध बजारमा जान्छ तर लामो समयदेखि प्रतिदिन ५ देखि ६ लाख लिटर दूध पनि बिक्री हुन नसकेको बताए । 

    छिमेकी मुलुक भारतबाट अवैध रूपमा कच्चा दूध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भइरहेको कारण नेपाली किसानले उत्पादन गरेको दूध बिक्री नभएको उनले बताए । 

    कति उत्पादन हुन्छ ? 

    नेपालमा वार्षिक रूपमा करिब २५ लाख मेट्रिक टन दुध उत्पादन हुँदै आएको तरकारी तथ्याङ्क छ । पछिल्लो समय दुधको उत्पादन केही बढेको पनि तथ्याङ्कमा देखिन्छ ।

    सन् २०२०/२१ मा १० लाख ६० हजार ४ सय ८७ टन गाईको दुध उत्पादन भएकोमा सन् २०२१/२२ मा ११ लाख १ हजार ८ सय १२ टन पुगेको मन्त्रालयले जनाएको छ ।

    यता, भैँसीको दुध पनि सो अवधिमा १४ लाख १९ हजार ४ सय १२ टनबाट बढेर १४ लाख ६४ हजार ८ सय २ टन उत्पादन भएको छ । देशभर एक दशकअघि वार्षिक १६ लाख मेट्रिक टनको हाराहारी दुध उत्पादन हुन्थ्यो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार