काठमाडौँ / सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अङ्कले ओरालो लागेको छ । यो दिन सोमबार कुल ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से २६१५.५५ बिन्दुमा पुगेर ओरालो लाग्दा २५९४.१३ बिन्दुमा पुगेर थामिएको हो ।
सोमबार १७५ ओटा कम्पनीको मूल्य घटेको छ भने ६३ ओटाको मात्रै बढेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । ३२२ ओटा धितोपत्रको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६४ हजार २७८ पटकमा किनबेच भएको छ ।
उच्च अङ्कले घटेको बजारमा बाराही हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ८.८७ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.८१ प्रतिशतले बढेको छ ।
सोमबार आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लाग्यो । रिभर फल्सको सेयर मूल्य पनि आज ८.३६ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार बढी भयो । यो कम्पनीको कुल ४५ करोड २५ लाखको कारोबार भएको छ ।
सोमबार नेप्सेका सबै उपसमूहको सूचक घटेको छ । जसमध्ये व्यापार, वित्त र होटल्स तथा पर्यटन सेक्टरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् ।