कामठाडौँ / गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित देश तथा विदेशमा एक साथ प्रदर्शन भैरहेको छ । यसैबीच, सिनेमामा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई सिनेमामा कथा वाचनको रूपमा प्रस्तुत गरिएको छ ।
मंगलबार सार्वजनिक सिनेमाको यो गीतमा सिनेमाका मुख्य कलाकार प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । यो गीतमा गायक सपुकै स्वर, शब्द रचना तथा कम्पोज अनि योगश काजी शाहको एरेञ्ज रहेको छ ।
सिनेमाको मंगलबार सार्वजनिक गीतले व्यापारमा समेत फाइदा गर्ने अपेक्षा निर्माण टिमको छ । निर्देशक तथा गायक सपुतले सिनेमाको भाव अनुसार नै ‘वसन्त’को गीत ‘मोटर’ तयार गरेका बताए ।
यता, सिनेमाको निर्माण टिमले सोमबार कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा स्पेशल स्क्रिनिङको समेत आयोजना गरेको थियो । जहाँ अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाई, नृत्य निर्देशक शंकर बिसी, गायक तथा संगीतकार खेम सेञ्चुरी लगायतका सिनेमाकमी र पत्रकारले स्पेशल स्क्रिनिङमा सिनेमा हेरेका थिए । सिनेमा हेरिसकेपछि अधिकांशले निर्देशक तथा अभिनेता प्रकाश सपुतको कथा भन्ने शैली र समाजको यतार्थ चित्रण गरेको भन्दै ‘वसन्त’को तारिफमा शब्द खर्चिए ।
वसन्त’ हेरिसकेपछि अभिनेत्री केकी अधिकारीले मिडियाको कुराकानीमा हामी अहिले जुन समाजमा छौँ, त्यहाँ अहिले पनि विभिन्न किसिमका विभेदहरू व्याप्त रहेको बताइन् । ‘समयले धेरै कोल्टे फेरि सक्यो । हामीले धेरै चिज देखी सक्यौं । अहिले पनि परिवर्तनका कुरा गर्दै गर्दा खेरी अझै पनि यो चिज चाहीँ वर्गिय हिसावले होस्, जातिय हिसावले होस्, अन्य अरू हिसावले नै किन नहोस् यस्ता खालका विभेद समाजमा व्याप्त छन् । वसन्तमा एउटा सानो केमियो गर्न पाएकोमा खुशी छु,’ उनले भनिन् ‘प्रकाश सपुत जीका हरेक सिर्जनामा समाजका कथा देख्न पाइन्छ । यसमा पनि त्यही कुरा हेर्न पाउँदा खुशी लाग्यो ।
गत चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एक साथ रिलिज रिलिज भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले देखाएको छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा सिनेमाको छायाङ्कन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।