images
images

नेपालको व्यापार सञ्जाल संसारभरि विस्तार तर लगभग सबैसँग घाटा, कसरी धानिएको छ अर्थतन्त्र ?

नेपालको व्यापार सञ्जाल संसारभरि विस्तार तर लगभग सबैसँग घाटा, कसरी धानिएको छ अर्थतन्त्र ?

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि पुष मसान्तसम्म भएको १५५ देशसँगको वैदेशिक व्यापारमा नेपालले एक सय २८ देशसँग घाटा व्यहोर्नुपरेको छ  ।

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • नेपालको व्यापार सञ्जाल संसारभरि विस्तार तर लगभग सबैसँग घाटा, कसरी धानिएको छ अर्थतन्त्र ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा नेपालले डेढ सय भन्दा बढी मुलुकसंग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा एक सय ५५ मुलुकसंग व्यापार गरेको हो ।

    images
    images

    यस अवधिमा नेपालको निर्यात व्यापार अत्यन्तै निराशाजनक देखिएको छ । साउनदेखि पुष मसान्तसम्म भएको १५५ देशसँगको वैदेशिक व्यापारमा नेपालले एक सय २८ देशसँग घाटा व्यहोर्नुपरेको छ  । २७ देशसँग मात्रै नेपालको व्यापार नाफामा गएको भन्सार विभागको तथ्यांकले देखाएको छ । ६ महिनामा ७ खर्ब भन्दा बढीको आयात हुँदा ६३ अर्बको मात्रै निर्यात भएको विभागले जनाएको छ ।

    जोसँग पनि घाटा ! 

    पुष मसान्तसम्ममा नेपालले संसारका १५५ देश तथा भौगोलिक क्षेत्रहरूसँग व्यापार गरेको भन्सार विभागको आँकडाले देखाउँछ । तर तीमध्ये केवल २७ देशसँग मात्र नेपालको व्यापार नाफामा छ ।

    दक्षिण एशियामा नेपालको व्यापार केवल अफगानिस्तान र माल्दिभ्ससँग मात्र नाफामा छ – त्यो पनि करिब २ करोड रुपैयाँले मात्र । ६ महिनामा नेपालले माल्दिभ्ससंगको व्यापारमा २ करोड ३४ लाख र अफगानिस्तानसंगको व्यापारमा १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । 

    विभागको तथ्याङ्क अनुसार नेपालले जुन देशसंगको व्यापारमा नाफा आर्जन गरेको छ त्यो थोरै परिमाणमा मात्र छ । उदाहरणका लागि सबैभन्दा धेरै नाफा अमेरिकामा देखिन्छ, जुन ७० करोड ३६ लाख रुपैयाँको मात्र छ । 

    अमेरिकासँग विसं २०७४/७५ यता गत आर्थिक बर्ष पहिलो पटक व्यापार नाफा भएको थियो । उक्त बर्ष साढे १४ करोड जतिको मात्रै व्यापार नाफा भएको विभागको तथ्याङ्क छ ।

    यता, युरोपका अधिकांश ठूला अर्थतन्त्र भएका देश (फ्रान्स र जर्मनी) सँग पनि नेपालको व्यापार अर्बौँ रुपैयाँले घाटामा छ । ५ महिनामा नेपालको फ्रान्ससंगको व्यापार घाटा ४ अर्ब ९१ करोड र जर्मनीसंगको व्यापार घाटा १ अर्ब ८९ करोड भन्दा बढीको घाटा छ ।

    पुष मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै व्यापार घाटा छिमेकी मुलुक भारतसंग व्यहोरेको छ । भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँभन्दा धेरै व्यापार घाटा छ । ६ महिनाको अवधिमा भारतबाट नेपालमा ४ खर्ब ७४ अर्ब ८९ करोड रुपैयाँको वस्तु आयात हुँदा ५० अर्ब ४४ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

    यस्तै, चीनसँग १ खर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ व्यापार घाटा छ । चीनबाट यस अवधिमा १ खर्ब ४७ अर्ब ३९ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट जम्मा १ खर्ब ६० करोड रुपैयाँको निर्यात भएको छ । तथ्याङ्कले नेपालको सबैभन्दा ठुलो व्यापार घाटा दुई छिमेकी मुलुक चीन र भारतसँग छ ।

    यता हङकङसँग १ अर्ब, इन्डोनेसियासँग ६ अर्ब, जापानसँग ३ अर्ब, कोरियासँग २ अर्ब, मलेसियासँग साढे ८ अर्ब, मोरोक्कोसँग साढे २ अर्ब रुपैयाँको नोक्सानी देखिएको छ ।

    न्यूजिल्याण्डसँग १ अर्ब, नाम नखुलेका मुलुकसँग २ अर्ब र ओमानसँग साढे ३ अर्बभन्दा बढीको घाटा हुँदा रुससँग साढे २ अर्बको घाटा बेहोरिएको छ । 

    यस्तै, साउदी अ‍ेरिबियासँग ३ अर्ब र सिंगापुरसँग २ अर्ब, दक्षिण अफ्रिकासँग साढे १ अर्ब, ताइवानसँग २ अर्ब थाइल्यान्डसँग ४ अर्ब रुपैयाँको घाटा देखिएको छ ।

    यी हुन् नेपालले बढी व्यापारघाटा व्यहोरेको १० देशहरू 

    भारतः ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ
    चीनः १ खर्ब ४५ अर्ब ७९ करोड १ लाख रुपैयाँ
    युएईः १२ अर्ब २६ करोड रुपैयाँ
    युक्रेनः ९ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ
    मलेसियाः ८ अर्ब ६० करो ८२ लाख रुपैयाँ
    अष्ट्रेलियाः ६ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ
    इन्डोनेसियाः ६ अर्ब ३१ करोड ५७ लाख रुपैयाँ
    अर्जेन्टिनाः ६ अर्ब २८ करोड ५२ लाख रुपैयाँ
    फ्रान्सः ४ अर्ब ९१ करोड २७ लाख रुपैयाँ
    थाइल्यान्डः ४ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ

    नेपाल नाफामा रहेका देश

    नेपालले ६ महिनामा विश्वका विभिन्न मुलुकसँग वैदेशिक व्यापार गर्दा अमेरिकाबाट उच्च नाफा कमाएको छ । नेपालले सो अवधिमा ७० करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।

    अमेरिकापछि डेनमार्कसँगको वैदेशिक व्यापार नाफामा छ । डेनमार्कमा ५० करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्दा डेनमार्कबाट २३ करोड ६५ लाख रुपैयाँको आयात गरेको छ । जसमा नेपालले २७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।

    यस्तै नर्वेसंग व्यापारमा नेपालले ६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । सो अवधिमा ८ करोड १५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्दा १ करोड ६७ लाख रुपैयाँको आयात गरेको छ ।

    विभागको अनुसार डोमिनिकासँगको व्यापारमा ३८ लाख, जर्जियासँग ३९ लाख, आइसल्यान्डसँग ५६ लाख, किर्गिस्तानसँग ८ लाख र लात्भियासँग १ करोड ७६ लाख रुपैयाँले नाफामा रहेको छ । 

    यता लाइबेरियासँग ३७ लाख रुपैयाँको नाफा हुँदा मालदिभ्ससँगको व्यापारमा २ करोड ३४ लाख रुपैयाँ नाफा छ भने माल्टासँग ६६ लाख, मौरिसिनियासँग ४९ लाख रुपैयाँको नाफामा रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

    यी देशहरूबाट आयात मात्रै हुन्छ, हुदैन निर्यात ! 

    नेपालबाट निर्यात भएको तथ्याङ्क अनुसार निर्यातको अवस्था निकै कमजोर देखिएको छ । व्यापार साझेदार देशमध्ये ३८ देशमा नेपालको निर्यात ‘शून्य’ रहेको छ ।

    आयात मात्रै भएको देशहरू

    देश आयात रकम
    अल्जेरिया  ३८ लाख ४८ हजार 
    अजरबैजान  ६ लाख ९२ हजार  
    बार्बाडोस  १ लाख ७७ हजार 
    बेलारुस  २ करोड २२ लाख ४३ हजार 
    बोस्निया/हर्जगोभिना ३ लाख ३३ हजार 
    ब्रुनाई दारुसलाम ८ लाख ८ हजार 
    बुर्किना फासो  १५ करोड ३६ लाख ३० हजार 
    क्यामरुन ६ लाख ८८ हजार 
    इक्वेडर ४ लाख १८ हजार 
    एल साल्भाडोर १८ लाख ६० हजार 
    गैबोन  ४ करोड १९ लाख ३१ हजार 
    घाना  ४ करोड ७५ हजार 
    होन्डुरस १ लाख ९७ हजार 
    लिकटेन्स्टाइन ५ लाख ३२ हजार 
    मेडागास्कर  २ करोड ९१ लाख ९३ हजार  
    मलावी  ९५ लाख ६१ हजार  
    माली  २४ लाख १० हजार  
    मार्शल टापुहरू  ९ लाख ७ हजार 
    मोनाको  २ लाख ८९ हजार 
    नामिबिया  १० लाख १० हजार 
    निकारागुआ  ४७ लाख १७ हजार 
    नाम उल्लेख नगरिएको देश  २ अर्ब ४९ करोड ६० लाख ४७ हजार 
    पिटक्रेन  ३ लाख ३८ हजार 
    रुवाण्डा  १ लाख ३६ हजार 
    सर्बिया  १ करोड ९९लाख १ हजार 
    सर्बिया (युरोप)  २४ लाख २३ हजार 
    सुरिनाम  १ लाख १९ हजार 
    स्वाजिल्याण्ड  ८ करोड ८९ लाख ९२ हजार 
    पूर्व युगोस्लाभ रिप. म्यासेडोनिया  ५ लाख ७७ हजार 
    टोगो  ३० करोड ७० लाख २ हजार 
    टोकेलाउ  ४ लाख १३ हजार 
    त्रिनिडाड/टोबागो १८ लाख ३ हजार 
    ट्युनिसिया १७ लाख ६४ हजार 
    तुर्कमेनिस्तान  १ अर्ब २२ करोड १८ लाख ६४ हजार 
    टक्र्स र काइकोस टापुहरू  ५ लाख ८६ हजार 
    भानुअतु  ४ लाख ३१ हजार 
    वालिस र फुटुना टापुहरू  २ लाख ७४ हजार 
    जाइरे  २ लाख ९४ हजार 

    स्रोतः भन्सार विभाग

    आयात शून्य भएको देश ८ वटा मात्रै 

    विभागको तथ्याङ्क अनुसार ६ महिनामा नेपालले १५५ वटा देश संग गरेको व्यापारमा ८ वटा देशबाट कुनै पनि वस्तु आयात नगरेको तथ्याङ्कले देखाएको छ । 

    आयात शुन्य हुने देशहरूमा एन्टिगुवा/बारबुडा, बहामास, बर्मुडा, चाड, डोमिनिका, किर्गिजस्तान, मौरिटानिया र न्यू क्यालेडोनिया रहेका छन् । व्यापार नाफा हुने २७ देशहरूमध्ये यी ८ देशहरूमा निर्यात मात्र (आयात नभएको) भएको हुँदा व्यापार नाफामा देखिएको हो । निर्यात मात्रै भएको यी आठ देशहरूमा पनि निकै कम रकमको वस्तु तथा सामानहरू पठाइएको छ । 

    वस्तु निर्यात मात्रै भएको ८ देशहरू 

    1.JPGस्रोतः भन्सार विभाग

    कसरी धानिएको छ अर्थतन्त्र ?

    हाल वस्तु व्यापारमा यसरी धरमराएको नेपालको अर्थतन्त्रलाई बलियो सहारा दिने क्षेत्र रेमिट्यान्स नै बनेको छ । चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको भनाइ छ ।

    तथ्याङ्क अनुसार पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ५ महिनामा नेपाली कामदारहरूले ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्र्याए । यो रकम अघिल्लो बर्षको सोही अवधिको तुलनामा २७.६ प्रतिशतले बढी हो । 

    बढेको रेमिट्यान्स अनि खस्किएको आयात–निर्यातका माझ विदेशी मुद्रा सञ्चिति १४.८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जसले १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न धान्न सक्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार