images
images

उतारचढावबिच यो साता सेयर बजार ८.२५ अङ्कले बढ्यो, बजेटपछि पनि नदेखिएको उत्साह मौद्रिक नीतिले फर्काउला ?

उतारचढावबिच यो साता सेयर बजार ८.२५ अङ्कले बढ्यो, बजेटपछि पनि नदेखिएको उत्साह मौद्रिक नीतिले फर्काउला ?

मौद्रिक नीतिले बजारलाई सम्बोधन गर्ला ?

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • उतारचढावबिच यो साता सेयर बजार ८.२५ अङ्कले बढ्यो, बजेटपछि पनि नदेखिएको उत्साह मौद्रिक नीतिले फर्काउला ?

    काठमाडौँ / यो साता सेयर बजार सामान्य बढेको भए पनि खासै उत्साहजनक देखिएन । साताको पाँचै दिन भएको कारोबारमा नेप्से परिसूचक तीन दिन घट्यो भने दुई दिन सामान्य अङ्कले उकालो लागेको थियो । 

    अघिल्लो साता २०६९.५३ को बिन्दुमा बन्द भएको बजार यो साता २०७७.७८ बिन्दुमा पुगेर बन्द भयो । अघिल्लो साताको तुलनामा यो साता सेयर बजार ८.२५ अङ्क अर्थात ०.४० प्रतिशतले बृद्धि भएको हो । 

    गत बिहीबारको तुलनामा आइतबार सेयर बजारमा फर्किएको उत्साह सोमबारसम्म टिक्न सकेन । साताको पहिलो कारोबार दिन आइतबार दाहोरो अंकले बढेर २०८३.०५ अंकमा पुगेको सेयर बजार सोमबार पुनः घटेको थियो । 

    सोमबार २०७९.०७ विन्दुमा झरेको नेप्से परिसूचक मंगलबार पुनः लय समातेर २०८५.३० विन्दुमा उक्लिएको थियो । मंगलबार उकालो लागेको बजार बुधबार पुनः घटेको देखिन्छ । पहिलो दिन १३.५१ अङ्कले बजार बढेपछि लगानीकर्ताहरूमा उत्साह जागेको थियो । तर, नाफा बुक गर्नेहरू हाबी हुँदा बजारको बृद्धि स्थिर हुन सकेन । जसले गर्दा साताको अन्तिमसम्म आइपुग्दा बजार घटेर २०७७.७८ बिन्दुमा झर्यो । 

    गत साता २१३१.४९ को बिन्दुबाट कारोबार सुरु भएको बजार अन्तिमसम्म आइपुग्दा नेप्से परिसूचक २०६९.५३ बिन्दुमा पुगेर बन्द भएको थियो । गत साता बजार ६१.५३ अङ्कले घटेको थियो । गत साताको तुलनामा उतारचढावका बिच यो साता सेयर बजार ८.२४ अंकले बजार बढेको नेप्सेको तथ्याङ्क छ । 

    यस साताभर व्यापार कम्पनी र माइक्रोफाइनान्स कम्पनीहरूका लगानीकर्ताहरूले केही बढी कमाएका छन् ।  यस साता सेयर बजारमा कुल  २०.७८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, २ लाख ८८ हजार ३३१ कारोबारबाट ४ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री भएका छन् ।

    अघिल्लो साता भने सेयर बजारमा १७.१२ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । जसबाट यस साता कारोबार रकमसमेत बृद्धि भएको देखिन्छ । नेप्से र कारोबार रकमसँगै यस साता बजार पुँजीकरण रकमसमेत १३ अर्ब रुपैयाँले बृद्धि भएको देखिन्छ । अघिल्लो साता बजार पुँजीकरण रकम ३२.८१ खर्ब रहेकोमा यस साता बढेर कुल बजार पुँजीकरण ३२ खर्ब ९४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । 

    किन बढेन बजार ? 

    केही लगानीकर्ताहरूले सरकारले आगामी बर्ष २०८१/८२ को बजेट भाषणपछि सेयर बजार बढ्ने अनुमान गरेका थिए । तर, बजेटले बजारमा खासै उत्साह ल्याएको देखिदैन । लगानीकर्ताको मनोबल सकारात्मक हुन नसक्दा बजारले गति लिन नसकेको सेयर विश्लेषकहरूको भनाइ छ । 

    बजारमा नयाँ लगानीकर्ताको प्रवेश नहुनु, पुरानाको क्रयशक्ति कमजोर रहनु, यसअघि नाफा बुक गरेकाहरू अझै ‘पर्ख र हेर’कै अवस्थामा रहेका कारण बजारले गति लिन नसकेको लगानीकर्ताहरूको बुझाइ छ । नेप्से परिसूचक २२ सय माथि गएपछि बजारमा चमक आउँछ भन्ने लगानीकर्ताहरूको अनुमान छ । पछिल्लो केही समययता बजार २२ सय माथि उक्लिन सकेको छैन । 

    सेयर विश्लेषक केशब कोइराला जबसम्म नेप्से परिसूचक २२ सय माथि पुग्दैन तबसम्म लगानीकर्ताहरू खुशी नहुने र नयाँ लगानीकर्ताहरू आकर्षित नहुने बताउँछन् । 

    यद्यपि, त्यो लेभलसम्म पुग्नको लागि अहिले बजारमा पैसाको अभाव रहेको विश्लेषक कोइरालाले बताए । उनी भन्छन्, “ठुलो पैसा पलायन भयो बजारबाट । नयाँ आइपिओहरू बाढीजस्तै गरेर एक तिहाइ कम्पनीहरू दुई बर्षको अवधिमा थपिए । त्यसपछि हकप्रद सेयरहरू जारी भयो । जसले गर्दा पैसाहरू पलायन भयो, नयाँ पैसा आएन । सप्लाइ साइड अहिले अलिक रोकिएको छ । अब डिमान्ड क्रियट गर्नुपर्दछ ।”  

    बजेटबाट करसम्बन्धी केही बोलिदिएला भन्ने आश बजेटले सम्बोधन गर्नुपर्ने खास विषय नरहेको उनको भनाइ छ । सेयर बजारमा देखिएको समस्या मौद्रिक नीतिले मात्रै सम्बोधन गर्नसक्ने विश्लेषक कोइरालाले बताए । 

    “२०८१/८२ को बार्षक मौद्रिक नीति डिमान्ड क्रियट गर्नेगरी आउनुपर्छ । विशेषगरी कर्जामा लगाएको क्यापमा खुकुलो गरिदियो भने बजार सजिलै माथि जान्छ भन्ने हाम्रो अनुमान छ,” उनले भने, “बजार यो पटक मात्रै बियरेसमा गएको होइन । अघिल्लो पटक पनि ४० महिनाको बियरिसपछि बजार बुलिस ट्रेन्डमा गएको हो ।” 

    एक डेढ महिनाभित्रमा राष्ट्र बैङ्कको मौद्रिक नीतिपछि बजार माथि जाला भन्ने अपेक्षा रहेको उनले बताए । बजार अहिलेको भन्दा धेरै तल जाने कल्पना गर्न नसक्ने बताउँदै उनले थपे, “बजार योभन्दा धेरै घट्दैन तर धेरै बढेर जानको लागि सप्लाई झेल्नेगरी पैसा बजारमा आएको छैन ।” 

    मौद्रिक नीतिले बजारलाई सम्बोधन गर्ला ? 

    बजेटले सेयर बजारमा उत्साह फर्काउन नसकेपछि लगानीकर्ताहरू मौद्रिक नीति पर्खिरहेका छन् । अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिने बताउँदै आएका छन् । पुनले नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङको संरचनागत सुधार गरिने उनले बताए ।

    आगामी दिनमा पूँजीबजारमा देखिएका समस्याहरूको समाधान गर्दै बजारलाई व्यवस्थित तथा नियमित गर्ने उनको भनाइ छ । आगामी आर्थिक बर्षको बजेट ल्याउनुअघि पनि विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बताउँदै आएका थिए । यद्यपि, बजेटले भने बजारलाई खासै सम्बोधन गर्न सकेको देखिएन ।

    यता, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति लचिलो ल्याउने प्रतिबद्धतासमेत जनाइसकेका छन् । मौद्रिक नीतिको लेखन कार्यको तयारी सुरु भइसकेको बताउँदै उनले यस्तो जानकारी दिएका हुन् । 

    सरोकारवाला निकायहरूसँग आवश्यक छलफलका माध्यमबाट लचिलो नीति ल्याउने तयारीमा रहेको बताएसँगै लगानीकर्ताहरू सेयर बजारमैत्री मौद्रिक नीति आउनेमा विश्वस्त छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार