काठमाडौँ / दुई दिन सामान्य अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार भने ओरालो लागेको छ । यो दिन नेप्से ७.२६ अङ्कले घटेर २६७८.४७ बिन्दुमा झरेको हो ।
बुधबार १.८६ अङ्कले मात्रै बढेको बजार आज घटेको हो । नेप्से ओरालो लागेसँगै आज सेयर कारोबार रकमसमेत घटेको छ । बुधबार ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज भने घटेर ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।
आज १६२ ओटा कम्पनीको सेयर मूल्य घट्दा ७६ कम्पनीको मात्रै मूल्य बढेको छ । ६ ओटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर कारोबार भएको छ ।
बिहीबार सेयर बजारका १३ वटा सेक्टरमध्ये ३ वटाको मात्रै परिसूचक बृद्धि भयो । वित्त समूहको परिसूचक सबैभन्दा बढी १.८६ प्रतिशतले बढेदा लगानी समूह ०.५२ प्रतिशत र लघुवित्त समूह ०.१८ प्रतिशतले बढेको छ ।
यता, सबैभन्दा बढी विकास बैंकको परिसूचक ०.९५ प्रतिशत र हाइड्रोपावर समूहको परिसूचक ०.९० प्रतिशतले घटेको छ भने बाँकी सबै सेक्टरको परिसूचक सामान्य घटेको छ ।
बिहीबार दुई वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मातृभूमि लघुवित्त वित्तीय संस्था र कुमारी सबल योजनाको सेयर मूल्यमा आज पोजेटिभ सर्किट लागेको हो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने सर्किट लेभल अर्थात ९.९९ प्रतिशतले नै बढेको छ । त्यस्तै, पोखरा फाइनान्सको सेयर मूल्य पनि आज ९.९८ प्रतिशतले बढेको देखिन्छ ।
यता, न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । बुधबारको कारोबार रकममा सर्वाधिक बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ ।
यो कम्पनीको सेयर कारोबार रकम सर्वाधिक बढी ३४ करोड १४ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।